Monday, August 28, 2017

सहकारीको बचत दुई अर्ब २१ करोड

News Update | 2:15 AM |


रामपुर (पाल्पा), १२ भदौ । जिल्लाका सहकारी संस्थामा बचत बढेसँगै ऋण लगानीसमेत वृद्धि भएको छ ।
जिल्लाका विभिन्न सहकारी संस्थाले आव २०७३÷७४ मा रु दुई अर्ब २१ करोड पाँच लाख ८४ हजार रकम बचत गरेका छन् भने रु दुई अर्ब ८० करोड ७९ लाख ४७ हजार ऋण लगानी गरेका छन् ।
सहकारीले लिएको ऋण रु १२ करोड १९ लाख ७२ हजार, कोष रकम रु १७ करोड ३२ लाख ४६ हजार र शेयर पूँजी रु ३० करोड १९ लाख ६८ हजार रहेको डिभिजन सहकारी कार्यालयका प्रमुख कृष्णबहादुर बोहोराले जानकारी दिनुभयो ।
आव २०७२÷७३ मा सहकारीले रु एक अर्ब ४४ करोड १४ लाख ५६ हजार रकम बचत र रु एक अर्ब ६५ करोड ७१ लाख ४३ हजार ऋण लगानी गरेका थिए । सहकारीले लिएको ऋण रकम रु ११ करोड ६५ लाख आठ हजार, कोष रकम रु पाँच करोड ९६ लाख २९ हजार र शेयर पूँजी रु २१ करोड ५३ लाख ४८ रहेको प्रमुख बोहोराले बताउनुभयो ।
जिल्लामा हाल बचत गर्ने शेयर सदस्यमध्ये महिलाको संख्या बढी छ । ८७ हजार ४०५ शेयर सदस्यमध्ये ५३ हजार ६०५ महिला र ३३ हजार ८०० पुरुष छन् । आव २०७२÷७३ मा ७१ हजार ४११ जना शेयर सदस्य पुगेको डिभिजन सहकारी कार्यालयले जनाएको छ ।
आव २०७३÷७४ मा २९१ वटा सहकारी दर्ता भएपछि बचत तथा ऋण सहकारी ९०, दुग्ध सहकारी १९, बहुउद्देश्यीय सहकारी ३४, कृषि सहकारी १०५, अदुवा सहकारी नौ, कफी १२, सामाजिक उद्यमी १४, विद्युत् दुई, सञ्चार एक, मौरी एक, जडीबुटी एक, कोसेली घर एक, बीउबिजन एक, स्वास्थ्य सहकारी एक गरी जम्मा २९१ वटा सहकारी पुगेका छन् ।
अघिल्लो वर्षको तुलनामा २२ वटा सहकारी संस्था दर्ता भएका छन् । २०७२÷७३ मा २७१ वटा सहकारी सञ्चालन भएका थिए । यहाँ सञ्चालित सहकारीले रु ६० करोडभन्दा बढी कारोबार गर्न सफल भएका छन् ।
बचत तथा ऋण सहकारीतर्फ अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर, कृषि क्षेत्रमा उत्पादन, संकलन र बजारीकरणमा मदनपोखरा कृषक बजार बहुउद्देश्यीय सहकारी संस्था, दूध उत्पादनतर्फ डुम्रे दुग्ध उत्पादक सहकारी संस्था डुम्रे, लुहुम दुग्ध उत्पादक सहकारी संस्था र किनारी दुग्ध उत्पादक सहकारी संस्था बौघापोखराथोक, कोकलधारा दुग्ध उत्पादक सहकारी संस्था सोमादीले राम्रो प्रगति गर्न सफल भएका छन् ।
सामाजिक उद्यमीतर्फ मिलनसार उद्यमी सहकारी संस्था बौघागुम्बा, मनकामना सामाजिक उद्यमी सहकारी संस्था सिलुवा र लगनशील सामाजिक उद्यमी सहकारी छहरालगायतका संस्थाले जिल्लामै नमूनाका रुपमा उत्कृष्ट काम गर्दै आइरहेका छन् । रासस
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger