Monday, February 27, 2017

क्याम्पस हाता भित्रै बिष्फोट, गोरखा क्याम्पसमा तालाबन्दी

News Update | 12:28 AM | Be the first to comment!


क्याम्पस हाता भित्रै बिष्फोट, गोरखा क्याम्पसमा तालाबन्दी

क्याम्पस हाता भित्रै बिष्फोट, गोरखा क्याम्पसमा तालाबन्दी

फाल्गुन १६, २०७३- गोरखा नगरपालिका–८ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पस परिसरमा सोमबार बिहान करिब साढे ११ बजे बम बिष्फोट भएको छ ।

प्रहरीले घटनास्थलको निरीक्षणपछि सुतली बम पड्किएको हुन सक्ने जनाएको छ । प्रहरी निरीक्षक महेश्वर उपाध्यायले घटनास्थलमा सुतली भेटिएकाले सुतली बम पड्केको हुन सक्ने बताए ।

बम बिष्फोट भएको भनिएको ठाउँमा बारुद पोखिएको छ भने झारपात जलेका छन् । बिष्फोटको आवाज पछि त्यहा नेपाल प्रहरी र शसस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ । एक जना युवा आएर बम बिष्फोट गराएको स्थानीयबासीले बताए ।

द्रव्यशाह क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियनले प्यानल सहित उमेदवारी दर्ता गराएका छन् । बुधबार चुनावको तयारी गरिएको छ । सार्वजनिक बिदा भएपनि क्याम्पस परिसरमा केही प्राध्यापक र विद्यार्थी उमेदवारहरु उपस्थित छन् ।

त्यस्तै गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी (प्रचण्ड) ले समूहले तालाबन्दी गरेको छ । मनोनयन दर्ताको क्रम नमिलेको भनेर विवाद भएपछि तालाबन्दी गरिएको क्रान्तिकारीले जनाएको छ । नेविसंघ र क्रान्तिकारी एकै समयमा उमेद्वारी दर्ता गर्न पुगेका थिए । निर्वाचन समितिले नेविसंघलाई दुई नम्बरमा दर्ता दिएको थियो ।

दुई नम्बरमा आफु हुनु पर्ने भन्दै क्रान्तिकारीले क्याम्पस प्रशासनमा ताला लगाएको हो । ताला नखुलेसम्म निर्वाचन प्रक्रिया अघि बढाउन नसकिने निर्वाचन समितिका संयोजक यदु अधिकारीले बताए । क्रान्तिकारीले गरेको तालाबन्दी प्रति नेविसंघ, अनेरास्ववियु र नयाँ शक्ति विद्यार्थी युनियनले असन्तुष्टि जनाएका छन् । गोरखा क्याम्पसमा पनि १८ गतेलाई चुनाव तोकिएको छ ।
read more...

पौडेललाई देउवाको जवाफ– ‘तत्काल बैठक बोलाउदिनँ’

News Update | 12:24 AM | Be the first to comment!


फाल्गुन १५, २०७३- कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक तत्काल नबोलाउने जनाउ दिएका छन् । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउन माग गर्दै पत्र पठाएपछि देउवाले यस्तो बताएका हुन् । ‘केन्द्रीय कार्यसमिति र संसदीय दलको एकैचोटी बैठक राख्ने तयारीमै थिएँ तर पत्रचार र पेपरबाजी गरियो अब बोलाउँदिनँ,’ कांग्रेस संसदीय दलमा आइतबार बिहान तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँगको छलफलमा देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘चिठी पठाउने र पेपरबाजी गरेपछि किन भनेकै बेलामा बोलाउने ?’

छलफलमा कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सभापति देउवालाई आग्रह गरेका थिए । सिंहको जबाफमा देउवाले यस्तो जबाफ दिएको स्रोतले बतायो । छलफलका बरिष्ठ नेता पौडेल भने उपस्थित थिएनन् । पार्टी सभापति देउवाको त्यस्तो जबाफलाई पौडेल पक्षले प्रजातान्त्रिक चरित्र सभापतिबाट व्यक्त नभएको टिप्पणी गरेको छ । ‘यो प्रजातान्त्रिक चरित्र होइन, पार्टीलाई संस्थागत र विधिसम्मत रुपमा अघि बढाउन पार्टीको केन्द्रीय कार्यसमितिको बैठक तत्काल बोलाउनु पर्छ,’ पौडेल निकट एक केन्द्रीय सदस्यले बताए । पौडेलले तत्काल केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाउन शनिबार देउवालाई पत्र पठाएका थिए ।

संविधान संशोधनको बिषयमा डाकिएको बैठकमा केहीबेर विवादस्पद राजदूत नियुक्तिको बिषयलाई लिएर छलफल भएको थियो । राजदूत नियुक्तिका लागि भएको सिफारिसको बिषय पार्टीको केन्द्रीय कार्यसमितिमा छलफलको बिषय बन्न नसक्ने भनाई देउवाको थियो । बैठकपछि संचारमाध्यमसँग संक्षिप्त धारणा राख्दै देउवाले भने, ‘राजदूत नियुक्ति पार्टीको केन्द्रीय कार्यसमितिमा छलफल भएर आउने होइन । यो छलफलको विषय हुनसक्दैन/कहिल्यै भएको छैन ।’



read more...

सार्वजनिक इनार व्यक्तिको घरभित्र

News Update | 12:21 AM | Be the first to comment!


फाल्गुन १६, २०७३- लिच्छविकालीन अशोक चैत्यको परिसरमा रहेको यो इनार कुनै बेला ठमेलका बासिन्दाले पानी लैजाने मुख्य स्रोत थियो । पछि यहाँ घर बन्यो । र, इनारको आधा भाग घर भित्र पर्‍यो । यो इनार भएको ठाउँको लालपुर्जा अहिले व्यक्तिका नाममा छ ।

अशोक चैत्य उपभोक्ता समितिका अनुसार २०२४ मा यहाँको बाटो र इनार घरभित्र पर्ने गरी बनाइयो । ठमेल क्षेत्रका दुई नक्सा प्राप्त भएका छन् । एउटा २००१ सालमा नापी भएको हो । त्यतिबेलाको नापीअनुसारको नक्सा २०३२ सालसम्म कायम रहयो । २०३३ सालमा पुन: नापी भयो । २०३३ को नक्सा जारी हुनुअघि यो क्षेत्रलाई ‘ठमेल मौजा’ भनेर चिनिन्थ्यो । त्यतिबेला कोहीसँग पनि लालपुर्जा थिएन । भोगचलनको अधिकार मात्रै थियो । त्यसबेला घर निर्माण लालपुर्जाअनुसार नभई नक्साबमोजिम हुन्थ्यो ।

२०२४ सालमा यहाँ घर बन्यो । ‘घर बन्दा मिचिएको जग्गालाई घरधनीकै नापमा कायम गरिदिए । मिचिएको झन्डै ४ फिटको बाटो चैत्यको जग्गातिर कायम गरिदिएको नक्सामा देखिन्छ । यसो गर्दा नापीले सार्वजनिक बाटो मिचेको देखाएन,’ अशोक विहार जीर्णाेद्धार एवं संरक्षण समिति अध्यक्ष सञ्जीव श्रेष्ठ भन्छन्, ‘समस्या त्यति बेलादेखि भयो ।’ पुरानो नक्साअनुसार विहार कित्ता नं. २२३ मा छ । अहिले कित्ता नम्बर १३५ मा छ । बिहारसँगैको पश्चिमतिरको घर २०३२ सम्मको नक्सामा कित्ता नम्बर २२२ मा छ । अहिले कित्ता नं. १३४ मा पर्छ । कित्ता नम्बर २२२ को जग्गाको पूर्वतिरको जग्गाको नक्सामा बाटो प्रस्ट देखिन्छ ।

विहार पुनर्निर्माण गर्ने क्रममा बाटो मिचिएको भन्दै काठमाडौं महानगरपालिकामा उजुरी दिएपछि यो तथ्य बाहिर आएको हो । ‘सार्वजनिक बाटो मिचेर गरिने निर्माण कार्य रोकिपाउँ’ भन्दै जग्गाधनी विष्णुकुमारी श्रेष्ठले महानगरपालिकामा मंसिर १९ गते उजुरी दिएकी थिइन् । त्यो मुद्दा अहिले महानगरमा विचाराधीन छ ।

‘हाम्रो निजी घर जग्गासँग जोडिएको कित्ता नं. १३५ स्थित अशोक स्तूप नामक मठ मन्दिर मर्मत तथा पुनर्निर्माण क्रममा हाम्रो घरजग्गामा आवतजावत प्रयोजनका लागि नेपाल सरकार, नापी विभागको नाप नक्साबमोजिम तोकिएको कित्ता नं. ११५ को सार्वजनिक बाटोसमेत मिची निर्माण गर्ने योजना रहेको थाहा पाएको हुँ,’ श्रेष्ठले उजुरीमा भनेकी छिन्, ‘उक्त गैरकानुनी निर्माण रोकी पाउँ । निर्माण गर्ने क्रममा हामीसँग कुनै मन्जुरी वा सम्झौतासमेत नभएको अवगत गराउँछौं ।’




महानगरमा उजुरी परेपछि पुरातत्त्व विभागले पुनर्निर्माण रोक्न आदेश दिएको छ । महानगरको अनुदान र स्थानीय बासिन्दाबीच चन्दा उठाएर विहार पुनर्निर्माण सकिएको छ । पश्चिमतर्फको इनार संरक्षण गर्ने र भक्तजन आउँदा बस्न पाटी बनाउने काम भइरहेको थियो । उजुरी परेपछि निर्माण रोकिएको छ । ‘सार्वजनिक सम्पत्ति जोगाउन लागेका हौं,’ श्रेष्ठ भन्छन्, ‘तैपनि अहिले तारिख खेप्दै हैरान छौं ।’

महानगरले दुवै पक्षलाई तारेखमा राखेर मुद्दा अगाडि बढाइरहेको छ । ‘अघिल्लो नक्सामा बाटो देखिँदैन,’ काठमाडौं महानगरपालिका कानुन विभाग प्रमुख वसन्त आचार्य भन्छन्, ‘पछिल्लो नक्सामा चाहिँ बाटो देखिन्छ । यो विवादकै विषय छ । बाटो आफैंमा सार्वजनिक हुन्छ । यो निर्णयको प्रक्रियामा छ ।’

सातौं शताब्दीको मानिएको यो स्तूप बेवारिसे अवस्थामा थियो । यहाँ पर्खाल लगाइएको थियो । जुन अवस्थामा थियो, त्यही अवस्थामा काम सुरु गरेको श्रेष्ठले जानकारी दिए । २०३७ मा जग्गाको उत्तरतिर काठको ढोका हालिएको थियो । काठको ढोका मक्किएपछि १७ वर्ष पहिला फलामको ढोका हालिएको छ । कित्ता नं. २२२ को चैत्यपट्टि बाटोसँग जोडिएको भाग उत्तर–दक्षिण सीधा थियो पहिला । अहिले त्यो बाटो सीधा नभई अंग्रेजी अक्षरको ‘एल’ आकारमा घर बनाइएको छ ।

read more...

मञ्जितले बनाए हेलिकोप्टर, ११ फोटोमा हेर्नुहोस् हेलिकोप्टरको यात्रा

News Update | 12:09 AM | Be the first to comment!

फाल्गुन १६, २०७३- हेलिकोप्टरमा यात्रा त हुन्थ्यो नै तर हेलिकोप्टरको यात्रा ! सुन्दै अच्चम लाग्न सक्छ तर यहाँ त्यस्तै भएको छ । सदरमुकाम खलंगाको बह्राटाकुरामा ५ दिनदेखि जारी मध्यपश्चिमाञ्चल रुकुम महोत्सव उद्घाटनको दिन फागुन १२ गते मानिसहरुले काँधमा बोकेरै हेलिकोप्टरको यात्रा गराए ।
यसरी मानिसले बोकेर यात्रा गराएको हेलिकोप्टर भने स्थानीयस्तरमै निर्मित हेलिकोप्टर हो । छिवाङ-४,का ३३ वर्षीय मञ्जित बिकले निर्माण गरेको उक्त हेलिकोप्टरलाई त्रिवेणीचोकदेखि महोत्सवस्थलसम्म बोकेर ल्याइको थियो । २ सय १५ किलो तौल भएको हेलिकोप्टरलाई ६ जना युवाले सकिनसकि बोकेका थिए ।
पेसाले होटेल व्यवसायी बिकले मुसीकोट नगरपालिका-५, सोलाबाङ बजारमा ३५ दिन लाएर निर्माण गरेको उक्त हेलिकोप्टर निर्माण गरेका थिए । होन्डा साइन मोटरसाइलको इन्जिन प्रयोग गरेर बनाइएको हेलिकोप्टर पेट्रोलमार्फत चल्ने गरेको छ । एक लाख ८५ हजार लागतमा निर्माण भएको उक्त हेलिकोप्टर उड्ने दाबी मञ्जितको छ । प्रहरी प्रशासनले उडाउन नमिल्ने भनेकाले आफूले त्यसो नगरेको उनले बताए । निर्माण सम्पन्न भएको दिन परीक्षणको क्रममा करिब ५ फिट हेलिकोप्टर उडेको दाबी उनले गरेका छन् ।
सोलावाङबासीले मञ्जितले तयार पारेको हेलिकोप्टर र मञ्जितलाई बाकेर महोत्सवस्थल सम्म पुर्‍याएका थिए । सोलावाङबाट खलंगाको त्रिवेणिचोकसम्म गाडीमा पुगेका उनीहरु त्यसपछि पैदलै महोत्सवस्थलमा पुगेका थिए ।

सोलावाङबाट महोत्सवस्थलसम्म हेलिकोप्टर पुर्‍याउन २५ हजार रुपैयाँ खर्च भएको स्थानीय विष्णु शर्माले बताए । ‘सोलावाङमा निर्मित हेलिकोप्टरलाई सबैलाई देखाउँ भनेर महोत्सवस्थलसम्म पुर्‍याइएका हौं,’ शर्माले भने, एउटा युवाको सीपको चर्चा ५ दिनदेखि महोत्सवस्थलमा भइरहेको छ, यसबाट सोलावाङबासी खुशी छौं ।’

सर्वसाधरणलाई बोक्ने बस, हेलिकोप्टर बोक्ने ट्याक्टर र बाजागाजा बजाउनको पारीश्रमिक गरी २५ हजार खर्च भएको उनको भनाइ छ । महोत्सवस्थलमा रहेका स्टलमध्ये हेलिकोप्टर भएको स्टलमा सर्वसाधारणको भीड लाग्ने गरेको छ ।
read more...

Sunday, February 26, 2017

लुट–२: न उत्साह, न निराशा

News Update | 10:39 PM | Be the first to comment!

चार वर्ष पहिले प्रदर्शित लुटलाई सम्झने कारण ऐतिहासिक व्यापार मात्र होइन, नेपाली फिल्म मेकिङमै ‘ट्रेन्ड सेटर्स’ साबित हुनुचाहिँ यसको अहम् उपलब्धि हो । लुटपश्चात् कथा, पात्र र कथावाचन शैलीमा मौलिकताले प्राथमिकता पायो । सौगात मल्ल र दयाहाङ राईजस्ता परम्परागत मानकमा बिलकुलै नअटाउने कलाकार रातारात मूलधारमा स्थापित भए । निर्देशक निश्चल बस्नेत आकर्षणको केन्द्रमा रहे । अर्थात् लुटको बहुआयामिक प्रभाव छ नेपाली फिल्म उद्योगमा । त्यसैले यसको सिक्वेल बहुप्रतीक्षित बन्नु स्वाभाविक हो ।

त्यसमाथि निश्चलको दोस्रो फिल्म टलकजंग भर्सेज टुल्के पनि अब्बल साबित भयो । तर, आमसिक्वेलजस्तै लुट २ ले पहिलो शृंखलाको वजन र सुगन्धलाई उही मात्रामा आत्मसात् गर्न सकेका छैनन् । खुकुलो पटकथा र पहिल्यै आँक्न सकिने ट्वीस्टले सिक्वेलप्रतिको अपेक्षा पूरा गर्दैन तर कथा उठानको शैली, बलियो संवाद, आकर्षक स्टन्ट, भूकम्पपछिको परिवेश र अपराधको राजनीतीकरण बुलन्द छ ।

लुट जहाँबाट सकियो, सिक्वेलको कथा त्यहीँबाट सुरु हुन्छ । भूकम्पको मौकामा जेलबाट भागेका छन्, गोफ्ले (दयाहाङ), नरे (कर्म), पाण्डे (सुशीलराज पाण्डे) र देवेन (प्रतीकराज पाण्डे) । यता, नाकाबन्दीको फाइदा उठाउँदै हाकु काले (सौगात)ले अवैध धन्दा विस्तार गरिरहेको छ । आफूलाई धोका दिने हाकुको रामधुलाई गर्नुछ, गोफ्ले ग्याङलाई । अनि, भट्टीबाट महल छिरेको हाकुको महत्त्वाकांक्षाको उडान अझ रोकिएको छैन । हाकु कालेसँग बदला लिने अनि करोडपति बन्ने गोफ्ले समूहको सपना पूरा होला ? कि फेरि उनीहरूलाई मूर्ख बनाएर हाकु मालामाल बन्ला ? लुट २ यसकै वरपर घुमेको छ ।

लुटको कथा, पात्रको हुलिया, तिनले बोल्ने संवाद त अग्र्यानिक छँदै थियो, त्यससँगै कथा भन्ने शैली र चक्मा दिने क्लाइमेक्सले लुट सर्वथा प्रिय बन्यो । सिक्वेल हुनुको नाताले निर्देशक निश्चलले त्यही ‘लिगेसी’लाई निरन्तरता दिएका छन् । यो चार वर्षमा मुख्य पात्रको मनोविज्ञान र सोचमा आएको बदलावलाई समात्न सफल छन् उनी । भूकम्प र नाकाबन्दीको सन्दर्भले कथालाई ‘फ्रेस’ बनाएको छ । अघिल्लो शृंखलामा सामान्य र कतिपय अवस्थामा ख्यालै नगरिने पात्र पनि यसपटक मूल कथाकै वरपर घुम्छन् । यसरी कथालाई परिपक्व बनाउनु प्रशंसनीय छ तर सोही अनुरूप कथा भन्ने शैलीमा नयाँपन आएन बरू अघिल्लो शृंखलाको भन्दा खुकुलो छ ।

केन्द्रीय द्वन्द्वको सवालमा अलमलमा परेको जस्तो देखिए पनि दर्शकलाई तानिरहने तत्त्व घुसाउन निर्देशक निकै चनाखो र सफल देखिन्छन् । मध्यान्तरअघि हँसाउने दृश्य र संवादको बाहुल्य छ । समय बितेको पत्तै पाइँदैन । हाकु काले र गोफ्ले समूहको ‘क्याट एन्ट माउस’ रवैया आकर्षक छ । गोफ्लेको प्रेमकहानी, पित्तल (विपिन कार्की)का सुरुआती दृश्य, गोफ्ले र पाण्डेको भट्टीको झगडा, दुई समूहबीचको लम्बेतान भिडन्तजस्ता दृश्यमा कैँची चलाएको भए फिल्म अझ चुस्त हुन्थ्यो । निर्देशकले कथालाई रोचक बनाउन सस्पेन्स वा प्रभावकारी ट्वीस्टभन्दा फाइट र स्टन्टको सहारा लिएका छन् । मकैबारीवाला प्लट स्थापित छैन । पञ्च लाइन प्रशस्त छन् । ‘भिजुअल रिच’ बनाउन कन्जुस्याइँ गरिएको छैन । हरेक व्यक्तिमा हुने ‘हिरो’ र ‘भिलेन’को गुणवक्ता लुट २ का हरेक पात्रमा महसुस गराउनु निर्देशकको अब्बलपन हो ।


read more...
 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger