Friday, April 28, 2017

आखिर आउने नै भयो चिनियाँ रेल लुम्बिनीसम्म, यस्तो छ चिनियाँ योजना

News Update | 8:19 PM |



काठमाडौं, १६ वैशाख । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाभित्र रहेर तिब्बतको सिगात्से आइपुगेको चिनियाँ रेल केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसँग प्रस्ताव गरिएको बताएका छन् । चीन अध्ययन केन्द्रले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री महराले भने, ‘प्रधानमन्त्री प्रचण्डले हालैको चीन भ्रमणमा सिगात्से आइपुगेको चिनियाँ रेललाई केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसमक्ष प्रस्ताव राख्नुभएको छ । हामी चीनको यो अवधारणामा सहभागी भएर लाभ लिन चाहन्छौं।’

आजको अन्नपूर्ण पोस्टमा खबर छ– चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड अवधारणाअनुसार चीन र एसिया, युरोप तथा अफ्रिकाबीच जमिन र समुद्र मार्गबाट सडक, रेल निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य छ । प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अघिल्लो महिना बेइजिङमा भएको भेटमा चीनले अघि बढाएको यस अवधारणामा नेपाल सदस्य बन्ने प्रतिबद्धता जनाएका थिए ।


अर्थमन्त्री महरा एक नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी चीनले वैशाख ३१ र जेठ १ मा बेइजिङमा आयोजना गर्ने बेल्ट एन्ड रोड शिखर सम्मेलनमा सहभागी हुन जाने तयारी भएको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए । महराको भ्रमणमा नेपाल बेल्ट एन्ड रोडको सदस्य बन्नेसम्बन्धी चीनसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भए पनि टुंगो भइनसकेको अधिकारीहरूले उल्लेख गरेका छन् ।
कार्यक्रममा पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले नेपालले बेल्ट एन्ड रोड अवधारणाको सदस्य बनेर पर्याप्त लाभ लिनसक्ने बताए । उनले भने, ‘नेपाल, भारतलगायत दक्षिणएसियाका मुलुकले यो अवधारणामा सहभागी भई लाभ लिन सक्छन् तर यसको ठ्याक्कै ब्लुप्रिन्ट बाहिर आएको छैन । नेपाल ओबीओआरको नक्सामा कतै देखिँदैन ।’

चीनको सिचुवान विश्वविद्यालयका प्राध्यापक दाइ योङहोङले बेल्ट एन्ड रोड अवधारणामा नेपाल चाँडै सदस्य बन्न लागेकोमा खुसी व्यक्त गर्दै भने, ‘चीन र एसियाबीचको जमिनबाट हुने व्यापारका लागि नेपालले पुलको काम गर्न सक्छ ।’प्राध्यापक दाइले भारतले चीनको मुख्य अग्रसरतामा स्थापित एसियाली पूर्वाधार बैंकको दोस्रो ठूलो हिस्सेदारका रूपमा संलग्न रहेको तथा बंगलादेश, चीन, भारत र म्यानमारबीचको आर्थिक करिडोर ९बीसीआईएम० मा सदस्य बनेर भारतले एक हिसाबले बेल्ट एन्ड रोड अवधारणामा सहभागिता जनाइसकेको बताए ।

‘भारतले सरकारी तहमा मात्र बेल्ट एन्ड रोड अवधारणामा सहभागी नभएको बताइरहेको छ तर ऊ अर्को ढंगले त सहभागी भइसकेको छ’, उनले भने ।नेपालका लागि पूर्वबंगलादेशी राजदूत हुमायुन कबिरले बंगलादेशले ओबीओआर अवधारणामा सहभागी भई समुद्री सिल्क रोडका माध्यमबाट चीनसँग कनेक्टिभिटी, पारवहन व्यापारलगायत क्षेत्रमा लाभ लिइरहेको बताए ।
चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले चीन र दक्षिणएसियाबीच पुलका रूपमा नेपालले ओबीओआर फ्रेमवर्कभित्र रहेर काम गर्ने अवसर रहेको बताउनुभयो । कार्यक्रममा भारत, श्रीलंका, पाकिस्तान, बंगालदेशलगायत देशबाट सहभागी उपस्थित थिए ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger