Monday, June 5, 2017

नमुना नेपाल योजनामा ज्याकी च्यानले सक्दो सहयोग गर्ने.सक्दो सेयर गरौ(भिडियो)

News Update | 9:41 AM |



भूकम्पपीडितको सहयोगार्थ २६ वैशाखमा काठमाडौँ उत्रिँदा ज्याकी च्यानको स्वागतमा खासै ठूलो भीड देखिएन । यसको मतलब नेपालमा ज्याकीलाई धेरैले चिन्दैनन् भन्ने होइन ।

नेपालमा उनलाई धेरैले एक्सन हिरोका रूपमा चिन्छन् । तर, उनको परिचय यतिमा मात्रै सीमित छैन । उनी अभिनेतासँगै फिल्म निर्देशक, निर्माता र गायक पनि हुन् । मार्सल आट्र्समा उत्तिकै पोख्त छन् । फिल्ममा देखाइने स्टन्ट ज्याकी च्यान आफँै गर्छन् ।

फिल्ममा ज्याकी प्राय: निर्दोष चरित्रमा देखिन्छन् । निर्दोषपन, एक्सन अनि त्यसैमा मिसिएको कमेडी ज्याकी च्यानको ट्रेडमार्क चरित्र हो ।

उनी कलाकारका अलावा सामाजिक अभियन्ता पनि हुन् । ज्याकी च्यान च्यारिटेबल फाउन्डेसन उनी आफँैले खोलेको सामाजिक संस्था हो । यसै फाउन्डेसनमार्फत उनले धेरैलाई सहयोग गरेका छन् । नेपाल आएर सहयोग गर्नु पनि यसै फाउन्डेसनको एउटा पाटो हो । तर, यसपटक उनी रेडक्रस सोसाइटी अफ चाइना र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा नेपाल आएका हुन् ।

यहाँ आउँदा उनले आफूसँगै राहत सामग्रीले भरिएका पाँच हजार बाकस ल्याएका थिए । जुन नेपाल रेडक्रस सोसाइटीमार्फत भूकम्प प्रभावित जिल्लामा बाँडिनेछ । १२ घन्टे नेपाल बसाइमा उनले राजधानी वरपरका भूकम्पपीडितलाई भेट्न भ्याए । ललितपुरको च्यासल पुगेर भूकम्पपीडितलाई भेटे । जावलाखेलमा पीडितको शिविर पुगे । त्यहाँ अपांगता भएका पीडितसँग केही समय बिताए र राहतका फ्यामिली प्याक बाँडे ।

हङकङमा जन्मेका र आफूलाई ‘ग्लोबल सिटिजन’ भन्न रुचाउने ज्याकी आपत्मा परेकालाई सघाउन जहाँ पनि पुग्छन् । २००८ मा चीनको सिचुवानमा भूकम्प जाँदा र २०११ मा जापानको सुनामीपीडितलाई सहयोग गर्न उनी आफैँ अघि सरेका थिए । उनले मृत्युपछि आफ्नो सम्पत्तिको आधा भाग च्यारिटीलाई जाने घोषणा गरिसकेका छन् ।

१२ वैशाखको भूकम्पलगत्तै ज्याकी च्यानले एक लाख सिंगापुर डलर सहयोग गरेका थिए । नेपाल आउँदा च्यान ६ लाख ५० हजार अमेरिकी डलर बराबरको राहत बोकेर आए । तर, उनी सहयोगभन्दा बढी सहयोगी भावना लिएर आएका थिए । सिन्ह्वासँग उनले भनेका छन्, ‘मलाई त्यहाँका पीडितलाई भेटेर म पनि सँगै छु भन्नु थियो ।’

उसो त नेपाल आउनुअघि च्यानलाई बुद्ध नेपालमै जन्मेका हुन् भन्ने थाहा रहेनछ । थाहा पाउनासाथ भनिहाले, ‘नेपाल मेरो पनि देश हो ।’ आखिर चिनाइछाडे ग्लोबल सिटिजनका रूपमा ।







फिल्म: जोयाको ‘क्रुज ट्रिप’

आफ्ना पात्रलाई यात्रामार्फत पर्दामा जीवन देखाउँछिन् जोया अख्तर । जिन्दगी ना मिलेगी दोबारापछि जोयाले फेरि यात्रामै केन्द्रित अर्को फिल्म बनाएकी छन्, दिल धडकने दो । नामबाटै थाहा हुन्छ, स्वतन्त्रता र स्वच्छन्दताको वकालत गरेको छ फिल्मले ।

हुन पनि जोयाले आफ्ना प्रिय पात्रलाई चराझैँ मनमौजी बनाएकी छन् । नर्तकी बन्न नपाएपछि घरबाट भागेकी मुस्लिम केटी, पतिसँग मन नमिलेपछि पारपाचुकेको मुडमा पुगेकी खान्दानी छोरी अनि मुस्लिम नर्तकीसँग जीवन बिताउन जस्तोसुकै मूल्य चुकाउन तयार हिन्दु अर्बपतिको छोरो, भारतीय समाजको परम्परागत आँखाबाट हेर्दा कलंक नै हुन्, अलि सभ्य भाषामा भन्दा क्रान्तिकारी । आफ्नै शैलीमा जीवन बिताउन चाहने यिनै कलंक/क्रान्तिकारीलाई जोयाले हिरो बनाएकी छन् । अर्थात्, फिल्म उनीहरूकै पक्षमा खरो रूपमा उत्रिएको छ । अझ पुस्तान्तरले निम्त्याउने समस्यामा केन्द्रित छ ।

भारतको ठूला व्यापारी कमल मेहरा (अनिल कपुर) र उनको परिवारको कथा हो, दिल धडकने दो । बाहिरबाट हेर्दा यो परिवार अत्यन्त सुखी र खुसी छ तर यथार्थमा सुखी त होला तर खुसी छैन । श्रीमती नीलम (सेफाली खान)सँग कहिल्यै मीठो वचन नगर्ने कमल छोरा कबिर (रणवीर सिंह)लाई आफू र आफ्नो व्यवसाय अनुकूल प्रयोग गर्न खोज्छन् । छोरी आयसा (प्रियंका चोपरा)लाई त पहिल्यै बिहे गरिदिएर बोझ हटाइसकेका छन्, भलै आयसा पति मानव (राहुल बोस)सँग छुट्टिने तरखरमा छिन् ।

यसरी परिवारभन्दा व्यापारलाई बढी महत्त्व दिने कमलले विवाहको ३०औँ वार्षिकोत्सवमा ‘क्रुज ट्रिप’को आयोजना गरेका छन्, छोराछोरीको करमा । जहाँ उनको परिवार र नजिकका व्यापारिक इष्टमित्र सामेल छन् । यही क्रुज ट्रिपभित्र पनि उनको स्वार्थ लुकेको छ । निम्तालुको स्वार्थ र छेडखानी त हुने भइहाल्यो । लालचले घेरिएको यो यात्राले मेहरा परिवारलाई अझ थिलथिलो बनाउँछ वा एकै ठाउँमा ल्याउँछ ? फिल्मको ‘क्लाइमेक्स’ यसकै वरपर घुमेको छ ।

मेहरा परिवार पाखण्ड र ढोँगको खोल ओढिरहेको भारतीय उच्च वर्गको प्रतिनिधि परिवार हो । ५० वर्ष पार गर्दा पनि घरवालीभन्दा बाहरवालीतिर बढी मन डुलाउने कमल पतिपीडित आफ्नै छोरीलाई पारपाचुके गर्न हुन्न भन्दै नैतिकताको पाठ सिकाउँछन् भने व्यापारिक फाइदाका लागि कुनै धनाढ्यकी छोरीसँग छोराको जबरजस्ती विवाह गर्न तम्सन्छन् । देखावटी मायाका नाममा हुने स्वतन्त्रता हरणको नमुना हो यो । उसो त कमल मात्र होइन, फिल्मका अधिकांश बाबु पुस्तामा यो प्रवृत्ति देखिन्छ । नयाँ पुस्तालाई भने केही जिम्मेवार र बिन्दास प्रेमीका रूपमा चित्रण गर्न खोजिएको छ । जोया आफैँ यही पुस्ताकी भएर पनि होला ।

यात्रा, त्यो पनि क्रुजको भनेपछि फिल्ममा भरपुर आकर्षक दृश्य हुने भइहाल्यो । टर्की, स्पेन, इटाली र ट्युनिसियाका मनोरम लोकेसनले पौने तीन घन्टाभित्रका हरेक फ्रेम चहकिलो देखिन्छ । चुम्बन र विकिनीका दृश्य पनि जोयाले घतलाग्दो शैलीमा खिचेकी छन् । कथावाचन पनि फरक र विशेष छ । तर, आधा दर्जन स्टारले भरिएर पनि होला, फिल्ममा केही अभाव खड्कन्छ । मुख्य पात्रबीच आवश्यक ‘कन्फ्लिक्ट’ र ‘ट्वीस्ट’ नहुनुको परिणति हो यो । अझ फरहान र अनुस्काको चरित्र कामचलाउ मात्र छ । अनिल, रणवीर र प्रियंकाको भने अभिनय र चरित्र दुवै शक्तिशाली छ । ‘गल्ला...’ले मात्र संगीतको साख जोगाएको छ । कतिपयलाई पहिलो पुस्ताप्रति पूर्वाग्रही र महिलाका गन्थनमन्थनसँगै क्रुजका घुमाइफिराई देखाइने दृश्यले फिल्म धीमा लाग्न सक्छ ।

कथा, कलाकार र खिचाइका हिसाबले यो औसतभन्दा माथिको फिल्म हो । नछुटाउँदा हुन्छ । तर, जिन्दगी ना मिलेगी दोबाराकै जस्तो अपेक्षा गरियो भनेचाहिँ यसले धीत मर्दैन ।

- गोकर्ण गौतम







जिल्ला प्रशासनको स्मार्ट सेवा

तपाईं कुनै पनि सरकारी कार्यालय पुग्नुभयो भने त्यहाँको भीडभाड, ढिलासुस्ती, उल्झनदेखि पक्कै दिक्क हुनुहुन्छ होला । होइन ? अब जिल्ला प्रशासन कार्यालय, काठमाडौँ पुग्ने सेवाग्राहीले भने यस्तो दिक्दारी महसुस गर्नुपर्दैन । कार्यालय छिर्नासाथ डिजिटल नागरिक बडापत्रमा विभिन्न सेवा पाइने स्थान र उक्त सेवा पाउन लाग्ने अवधि, दस्तुरजस्ता सूचना राखिएका छन् । सेवाग्राहीले अलमलिनु पर्दैन । यो मात्रै होइन, कार्यालयलाई नै डिजिटल प्रविधिबाट सञ्चालन गर्न थालिएको छ । जिल्लाभरका करिब ४० हजार संघसंस्थालाई छुट्टै सफ्टवेयर बनाएर अद्यावधिक गरिएको छ । सम्पूर्ण काम डिजिटल प्रविधिबाट सम्पादन हुन्छन् । सम्भवत: यो डिजिटल प्रविधिबाट सबै काम गर्ने पहिलो जिल्ला प्रशासन कार्यालय हो । “हामीले सबै काम कम्प्युटर प्रणालीबाटै सञ्चालन गरिरहेका छौँ,” प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल भन्छन् ।

यहाँ मुद्दाहरूको छुट्टै सफ्टवेयर छ, जसले मुद्दाको अवस्थाबारे छिनमै जानकारी दिन्छ । छिटोछरितो सेवा प्रवाह हुन थालेपछि सेवाग्राहीको चापसमेत स्वात्तै घटेको छ । ई–बैंकिङ सेवा पनि कार्यालय परिसरभित्रै छ । यो प्रविधिलाई कार्यालयले गृह मन्त्रालयसँग ‘लिंक’ गराउँदै छ, जसले शान्तिसुरक्षा र प्रशासकीय कार्यबारे अनुगमन र निर्देशनमा सहजता ल्याउने विश्वास छ ।

स्मार्ट सेवाको विशेषता के भने यो कुनै दाता वा सरकारसँग बजेट मागेर सुरु गरिएको होइन । आन्तरिक स्रोतबाटै यो सब सम्भव भएको हो । “इच्छाशक्ति भए यस्ता कामका लागि कसैको मुख ताक्न नपर्ने रहेछ,” प्रजिअ अर्याल भन्छन्, “सोच र काम गर्ने शैली नयाँ भए धेरै काम सम्भव बन्दा रहेछन् ।”







डांगोटेको १० करोड

नेपालमा सिमेन्ट उद्योग खोल्न लगानी बोर्डबाट स्वीकृति पाइसकेको अफ्रिकी महादेशको सर्वाधिक ठूलो औद्योगिक घराना नाइजेरियाको डांगोटे समूहले भूकम्प प्रभावित नेपालीका लागि १० लाख अमेरिकी डलर अर्थात् १० करोड रुपियाँभन्दा बढी सहयोग गर्ने भएको छ । समूहको सामाजिक उत्तरदायित्व अन्तर्गत डांगोटे फाउन्डेसनले २२ जेठमा प्रधानमन्त्री सुशील कोइरालालाई पत्र पठाएर प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने प्रतिबद्धता जनाएको हो ।

यसअघि समूहका अध्यक्ष अलिको डांगोटे, जो अफ्रिकाकै सबैभन्दा धनी, काला समुदायका संसारकै धनी र फोब्र्स म्यागेजिनको सूचीमा विश्वका ६७औँ नम्बरका धनाढ्य हुन्, ले प्रधानमन्त्री कोइरालासँग टेलिफोनमा कुराकानी गरेर सहयोगको वचन दिइसकेका थिए । प्रधानमन्त्री कोइरालालाई सहयोग राशि हस्तान्तरण गर्न समूहका ग्रुप एक्जिक्युटिभ डाइरेक्टर डिभिजी एडबिन र डांगोटे फाउन्डेसनका म्यानेजिङ डाइरेक्टर/चिफ एक्जिक्युटिभ अफिसर जउरा युसोफउ आगामी साता काठमाडाँै आउन लागेको जानकारी लागोसबाट समूहका ग्रुप जनरल म्यानेजर हिक्मत थापाले दिएका छन् । डांगोटे समूहले नेपालमा दुई वर्षभित्र दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादनको लक्ष्यका साथ कारखाना स्थापनाको तयारी सुरु गरिसकेको छ । जसमा उसले करिब ७२ अर्ब रुपियाँ लगानी गर्दै छ ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger