Monday, February 27, 2017

सार्वजनिक इनार व्यक्तिको घरभित्र

News Update | 12:21 AM |



फाल्गुन १६, २०७३- लिच्छविकालीन अशोक चैत्यको परिसरमा रहेको यो इनार कुनै बेला ठमेलका बासिन्दाले पानी लैजाने मुख्य स्रोत थियो । पछि यहाँ घर बन्यो । र, इनारको आधा भाग घर भित्र पर्‍यो । यो इनार भएको ठाउँको लालपुर्जा अहिले व्यक्तिका नाममा छ ।

अशोक चैत्य उपभोक्ता समितिका अनुसार २०२४ मा यहाँको बाटो र इनार घरभित्र पर्ने गरी बनाइयो । ठमेल क्षेत्रका दुई नक्सा प्राप्त भएका छन् । एउटा २००१ सालमा नापी भएको हो । त्यतिबेलाको नापीअनुसारको नक्सा २०३२ सालसम्म कायम रहयो । २०३३ सालमा पुन: नापी भयो । २०३३ को नक्सा जारी हुनुअघि यो क्षेत्रलाई ‘ठमेल मौजा’ भनेर चिनिन्थ्यो । त्यतिबेला कोहीसँग पनि लालपुर्जा थिएन । भोगचलनको अधिकार मात्रै थियो । त्यसबेला घर निर्माण लालपुर्जाअनुसार नभई नक्साबमोजिम हुन्थ्यो ।

२०२४ सालमा यहाँ घर बन्यो । ‘घर बन्दा मिचिएको जग्गालाई घरधनीकै नापमा कायम गरिदिए । मिचिएको झन्डै ४ फिटको बाटो चैत्यको जग्गातिर कायम गरिदिएको नक्सामा देखिन्छ । यसो गर्दा नापीले सार्वजनिक बाटो मिचेको देखाएन,’ अशोक विहार जीर्णाेद्धार एवं संरक्षण समिति अध्यक्ष सञ्जीव श्रेष्ठ भन्छन्, ‘समस्या त्यति बेलादेखि भयो ।’ पुरानो नक्साअनुसार विहार कित्ता नं. २२३ मा छ । अहिले कित्ता नम्बर १३५ मा छ । बिहारसँगैको पश्चिमतिरको घर २०३२ सम्मको नक्सामा कित्ता नम्बर २२२ मा छ । अहिले कित्ता नं. १३४ मा पर्छ । कित्ता नम्बर २२२ को जग्गाको पूर्वतिरको जग्गाको नक्सामा बाटो प्रस्ट देखिन्छ ।

विहार पुनर्निर्माण गर्ने क्रममा बाटो मिचिएको भन्दै काठमाडौं महानगरपालिकामा उजुरी दिएपछि यो तथ्य बाहिर आएको हो । ‘सार्वजनिक बाटो मिचेर गरिने निर्माण कार्य रोकिपाउँ’ भन्दै जग्गाधनी विष्णुकुमारी श्रेष्ठले महानगरपालिकामा मंसिर १९ गते उजुरी दिएकी थिइन् । त्यो मुद्दा अहिले महानगरमा विचाराधीन छ ।

‘हाम्रो निजी घर जग्गासँग जोडिएको कित्ता नं. १३५ स्थित अशोक स्तूप नामक मठ मन्दिर मर्मत तथा पुनर्निर्माण क्रममा हाम्रो घरजग्गामा आवतजावत प्रयोजनका लागि नेपाल सरकार, नापी विभागको नाप नक्साबमोजिम तोकिएको कित्ता नं. ११५ को सार्वजनिक बाटोसमेत मिची निर्माण गर्ने योजना रहेको थाहा पाएको हुँ,’ श्रेष्ठले उजुरीमा भनेकी छिन्, ‘उक्त गैरकानुनी निर्माण रोकी पाउँ । निर्माण गर्ने क्रममा हामीसँग कुनै मन्जुरी वा सम्झौतासमेत नभएको अवगत गराउँछौं ।’




महानगरमा उजुरी परेपछि पुरातत्त्व विभागले पुनर्निर्माण रोक्न आदेश दिएको छ । महानगरको अनुदान र स्थानीय बासिन्दाबीच चन्दा उठाएर विहार पुनर्निर्माण सकिएको छ । पश्चिमतर्फको इनार संरक्षण गर्ने र भक्तजन आउँदा बस्न पाटी बनाउने काम भइरहेको थियो । उजुरी परेपछि निर्माण रोकिएको छ । ‘सार्वजनिक सम्पत्ति जोगाउन लागेका हौं,’ श्रेष्ठ भन्छन्, ‘तैपनि अहिले तारिख खेप्दै हैरान छौं ।’

महानगरले दुवै पक्षलाई तारेखमा राखेर मुद्दा अगाडि बढाइरहेको छ । ‘अघिल्लो नक्सामा बाटो देखिँदैन,’ काठमाडौं महानगरपालिका कानुन विभाग प्रमुख वसन्त आचार्य भन्छन्, ‘पछिल्लो नक्सामा चाहिँ बाटो देखिन्छ । यो विवादकै विषय छ । बाटो आफैंमा सार्वजनिक हुन्छ । यो निर्णयको प्रक्रियामा छ ।’

सातौं शताब्दीको मानिएको यो स्तूप बेवारिसे अवस्थामा थियो । यहाँ पर्खाल लगाइएको थियो । जुन अवस्थामा थियो, त्यही अवस्थामा काम सुरु गरेको श्रेष्ठले जानकारी दिए । २०३७ मा जग्गाको उत्तरतिर काठको ढोका हालिएको थियो । काठको ढोका मक्किएपछि १७ वर्ष पहिला फलामको ढोका हालिएको छ । कित्ता नं. २२२ को चैत्यपट्टि बाटोसँग जोडिएको भाग उत्तर–दक्षिण सीधा थियो पहिला । अहिले त्यो बाटो सीधा नभई अंग्रेजी अक्षरको ‘एल’ आकारमा घर बनाइएको छ ।

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger