Monday, February 27, 2017

पौडेललाई देउवाको जवाफ– ‘तत्काल बैठक बोलाउदिनँ’

News Update | 12:24 AM |



फाल्गुन १५, २०७३- कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक तत्काल नबोलाउने जनाउ दिएका छन् । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउन माग गर्दै पत्र पठाएपछि देउवाले यस्तो बताएका हुन् । ‘केन्द्रीय कार्यसमिति र संसदीय दलको एकैचोटी बैठक राख्ने तयारीमै थिएँ तर पत्रचार र पेपरबाजी गरियो अब बोलाउँदिनँ,’ कांग्रेस संसदीय दलमा आइतबार बिहान तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँगको छलफलमा देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘चिठी पठाउने र पेपरबाजी गरेपछि किन भनेकै बेलामा बोलाउने ?’

छलफलमा कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सभापति देउवालाई आग्रह गरेका थिए । सिंहको जबाफमा देउवाले यस्तो जबाफ दिएको स्रोतले बतायो । छलफलका बरिष्ठ नेता पौडेल भने उपस्थित थिएनन् । पार्टी सभापति देउवाको त्यस्तो जबाफलाई पौडेल पक्षले प्रजातान्त्रिक चरित्र सभापतिबाट व्यक्त नभएको टिप्पणी गरेको छ । ‘यो प्रजातान्त्रिक चरित्र होइन, पार्टीलाई संस्थागत र विधिसम्मत रुपमा अघि बढाउन पार्टीको केन्द्रीय कार्यसमितिको बैठक तत्काल बोलाउनु पर्छ,’ पौडेल निकट एक केन्द्रीय सदस्यले बताए । पौडेलले तत्काल केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाउन शनिबार देउवालाई पत्र पठाएका थिए ।

संविधान संशोधनको बिषयमा डाकिएको बैठकमा केहीबेर विवादस्पद राजदूत नियुक्तिको बिषयलाई लिएर छलफल भएको थियो । राजदूत नियुक्तिका लागि भएको सिफारिसको बिषय पार्टीको केन्द्रीय कार्यसमितिमा छलफलको बिषय बन्न नसक्ने भनाई देउवाको थियो । बैठकपछि संचारमाध्यमसँग संक्षिप्त धारणा राख्दै देउवाले भने, ‘राजदूत नियुक्ति पार्टीको केन्द्रीय कार्यसमितिमा छलफल भएर आउने होइन । यो छलफलको विषय हुनसक्दैन/कहिल्यै भएको छैन ।’



Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Facebook News • All Rights Reserved.
Blogger Templates Design by BTDesigner • Powered by Blogger